लोकतान्त्रिक गणतन्त्रमाथि औँला उठाउने काम एमालेले गर्न दिँदैन : अध्यक्ष ओली

काठमाडौं, २ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि एमालेले औंला ठड्याउने काम गर्न नदिने बताउनुभएकाे छ ।

दुर्गा प्रसाईँको नेतृत्वमा यही मङ्सिर ७ गते काठमाडौंमा हुन गइरहेको प्रदर्शनप्रति संकेत गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउनेहरूलाई एमालेले तह लगाउने बताउनुभयाे ।

पार्टीको जनसंगठन शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै ओलीले भन्नुभयाे ‘हामीले यातना सहेर, अङ्गभङ्ग भएर, जेलनेल सहेर ल्याएको लोकतन्त्र हो यो । बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर ल्याएको हो, त्यस कारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीको भाषामा भन्न चाहन्छु ।

अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोडतोडका साथ अघि बढाए पनि त्यसले काठमाडौंमा फोहोर पार्ने बाहेक अरू कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयाे।

उहाँले देशलाई अफ्ठ्यारोबाट मुक्त गराउन र सरकारलाई सच्याउनका लागि आफूहरूले पनि मङ्सिर ७ गते युवा/विद्यार्थीको प्रदर्शन गर्न लागेको बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *