सिद्धार्थ अस्पताल बुटवलमा सुत्केरीको मृत्यु भएपछि मेसु बस्यालमाथि कुटपिट
लुम्बिनी, १३ मंसिर । सिद्धार्थ बाल तथा महिला अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् ।
सुत्केरी गराउन सोमबार अस्पताल आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको सुत्केरी पछि मङ्गलबार मृत्यु भएको विषयलाई लिएर विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन् ।
अस्पताल व्यवस्थापनका अनुसार नवजात शिशु भने सकुशल रहेकाे जनाइएको छ ।
सुत्केरीपछि पनि सामान्य स्वास्थ्य अवस्थामा रहेकी महिलाको मङ्गलबार मृत्यु भएको विषयमा उनका आफन्तले कारण जान्न खोज्दा विवाद भएको थियो ।
विवाद सुल्झाउन राति अबेरसम्म वार्ता भइरहेको अवस्थामा मृतकका आफन्त अस्पताल व्यवस्थापनबीच विवाद बढ्दा अस्पतालका मेसु डा बस्यालमाथि हातपात भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताउनुभयो ।
उहाँले घटनाका बारेमा थप अनुसन्धान भइरहेकोसमेत बताउनुभयो । घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।
विवादका क्रममा चिकित्सकमाथि हातपात गर्ने मृतकका आफन्तमध्येका केही व्यक्तिलाई नियन्त्रणमा लिइएकोसमेत प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले चिकित्सकमाथि हातपात हुनु गलत भएको बताउनुभयो । उहाँले चिकित्सकमाथि हातपात गर्ने जो कोही भए पनि कानुनी कारबाही गर्न माग गर्नुभयो ।