भूकम्पपीडित चिसोमा काप्दै, क्षतिको विवरण अझै सङ्कलन भएन, राजनीतिक दलका हजारौँ कार्यकर्ता स्वयंसेवकका रूपमा परिचालित

जाजरकोट, १३ मंसिर । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै भएकाे छ ।

पटकपटक कार्यविधि परिवर्तन गर्नुका साथै हालसम्म क्षतिको यकिन विवरण नआउँदा थप समस्या उत्पन्न हुँदै आएको हाे ।

भूकम्प गएको एक महिना पुग्नै लाग्दासम्म पनि अस्थायी आवास निर्माण हुन नसक्दा कठ्याङ्ग्रिँदो चिसोमा ज्यान जाने जोखिम बढिरहेको स्थानीयहरू बताउँछन् ।

भूकम्पपीडितका लागि आवास निर्माण ढिलाइ भइरहेकाले चिसोका कारण नागरिकको ज्यान जाने सम्भावना बढिरहेको भन्दै सरोकारवालाले तत्काल अस्थायी आवास निर्माणमा ध्यान दिनुपर्ने बताइरहेका छन् ।

विभिन्न राजनीतिक दलहरू भने प्रभावित क्षेत्र केन्द्रित भएका छन् । सबैजसो दलबाट हजारौँको सङ्ख्यामा नेता, कार्यकर्ता स्वयंसेवकका रूपमा प्रभावित क्षेत्रको व्यवस्थापनमा जुटेका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दल भूकम्प प्रभावित क्षेत्रमा सक्रिय बनेका छन् । दलहरूले आफ्ना भ्रातृ सङ्गठनलाई प्रभावित क्षेत्रमा तैनाथ गरिरहेका छन् ।

एमालेका केन्द्रीय सदस्य तथा विपत् व्यवस्थापन विभागका प्रमुख किरण पौडेलको नेतृत्वमा जाजरकोट र रुकुमपश्चिमा गरी एक हजार एक सय स्वयंसेवक खटिएका छन् । पौडेलका अनुसार एमालेले कार्य विभाजन गरी २५ समूहमा अस्थायी आवास निर्माण तथा भत्किएका घरहरू पन्छाउने काम गरिरहेका छन् ।

माओवादी केन्द्रले पनि स्वयंसेवक खटाएको स्थायी समितिका सदस्य कालीबहादुर मल्लले बताउनुभयो । जाजरकोट र रुकुमपश्चिमका साथै अन्य जिल्लाबाट पनि पार्टीका कार्यकता खटिएका उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा तीन समूहले काम गरिरहेको छ । समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र युवा सङ्घको टोली पनि प्रभावित क्षेत्रमा खटिएको छ । आरती लामाको नेतृत्वमा अनेरास्ववियुको ५० भन्दा बढीको टोली प्रभावित क्षेत्रमा खटिएका छन् । त्यस्तै रास्वपा जिल्लाको टोली पनि निरन्तर प्रभावित क्षेत्रमा सक्रिय रहेका छन् ।

शुक्रबारबाट बारेकोटमा पनि काम सुरु गरिएको एमालेका विपत् व्यवस्थापन विभागका प्रमुख पौडेलले बताउनुभयो । बारेकोट भूकम्पको इपिसेन्टर हो । यहाँ थप ५० जनाको फोर्स पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । पहुँच नपुगेको र विकट कुसे गाउँपालिकामा पनि थप ५० जनाको फोर्स पठाइँदैछ ।

“सबैजसो ठाउँमा एमालेको सहभागिता छ । हामीले आफ्ना लागि चाहिने खाद्यान्नलगायत हरेक कुरा आफैँले व्यवस्थापन गरेका छौँ । बस्नका लागि टेन्टसमेत दुई ठाउँमा सेन्ट्रल क्याम्प बनाएका छौँ”, पौडेलले भन्नुभयो । उहाँका अनुसार एमाले स्वयंसेवकले भग्नावशेष पन्छाउने र टहरा निर्माण गर्ने कामलाई प्राथमिकता दिएका छन् ।

भत्किएका घरभित्र पुरिएका सामान निकाल्ने, भत्किएका संरचना सफा गर्ने, आधा भत्किएका संरचनालाई पूर्ण भत्काई खाली गर्नेलगायत काम भइरहेको पौडेलले बताउनुभयो । “कतिपय स्थानमा स्रोत नै छैन । त्यहाँ स्थानीय स्तरमा पाइने काठ जोडेर तत्काल घामपानी तथा हावाहुरीबाट जोगाउने गरी अस्थायी संरचना बनाउन आवश्यक साम्रगी जम्मा गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “हाम्रो तयारीमा सरकारले दिएको रकमबाट टिन खरिद गरेर माथिबाट छानो हाले बस्न मिल्छ ।”

चिसो पालमुनि रहेका जनतालाई त्योभन्दा अलि सुरक्षित स्थानमा राख्ने गरी काम भइरहेको पौडेललको भनाइ थियो । उहाँका अनुसार अहिलेसम्म एमालेका स्वयम्सेवकले दुई जिल्लामा करिब पाँच सय अस्थायी टहरा निर्माण गरेको छन् ।

रास्वपाले अहिलेसम्म १७ अस्थायी टहरा निर्माण गरेको जनाएको छ । तीमध्ये १० पूर्ण रूपमा बनिसकेका छन् भने बाँकी सम्पन्न हुने अवस्थामा पुगेका छन् । रास्वपाका भौतिक पूर्वाधार विभाग प्रमुखसमेत रहेकी सांसद निशा डाँगीका अनुसार आठबिस नगरपालिकाको–१४ र सानोभेरी गाउँपालिकाको १, २ र ४ मा अस्थायी आवास निर्माण गरिएको हो । रास्वपा रुकुमका नेतासमेत रहेका इन्जिनियर मानबहादुर शाहीको टोलीले ती संरचना निर्माण गरेको छ ।

प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवक तथा नेताहरू अस्थायी आवास निर्माणमा ढिलाइ भइरहेको बताउँछन् । मङ्सिरभित्र पालमुक्त गरेर अस्थायी आवासमा स्थानान्तरण नगर्ने हो भने चिसोले ज्यान जाने खतरा बढिरहेको नेताहरूको भनाइ छ ।

सरकारले अस्थायी आवास निर्माणबारे अहिलेसम्म कुनै तदारुकता नदेखाएको पीडितको गुनासो छ । मङ्सिरभित्र अस्थायी आवास निर्माण गरिसक्नु अनिवार्य आवश्यकता भएको नेताहरूकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *