अछामबाट ओलीले भने, देशमा अस्थिरता, अराजकता र मनपरीतन्त्र फैलियो
काठमाडौं, १६ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताउनुभएकाे छ ।
शनिबार मध्य पहाडी लोकमार्ग पदयात्रा अभियान अन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएकाे हाे ।
उहाँले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाउनुका साथै एमाले पार्टी बाहेक अन्य पार्टी बाट मुलुकमा विकास र समृद्धि सम्भव नभएको पनि बताउनुभएकाे छ । ओलीले भन्नुभयाे, ‘अब देख्नु भएन सबै पार्टीको हबिगत ? वितण्डा मच्चाउन सजिलो होला विकास गर्न गाह्रो छ ।’
उहाँले सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ। भ्रष्टाचार, तस्करी, मौलाएको छ। सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरेर त्यसको विकास भइरहेको छ। यस्तो अवस्थामा यस स्थितिबाट परिवर्तन गर्नका लागि हामीले देख्यौँ, नेकपा एमालेबाहेक अरु कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन’।