बरामद १४ केजी सुनबारे छानबिन गर्न पौडेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन
काठमाडौं, २२ मंसिर । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा १४ केजी सुन बरामद भएको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका महानिर्देशक टोकराज पाण्डेका अनुसार प्रमुख भन्सार अधिकृत मनिराम पौडेल संयोजक रहेको समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा सदस्य रहेका छन् ।
दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घलेलाई विमानस्थलमा चेकजाँच गर्ने सन्र्दभमा उनको साथबाट बिस्कुट आधारको ७ थान (अन्दाजी १४ केजी) सुन बरामद भएको थियो । उक्त सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ भने घलेको बयानको आधारमा गोरखाकै मीनबहादुर घलेलाई पक्राउ गरिएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि विमानस्थलका प्रमुखसहितको विशेष टोलीले विमानस्थल सुरक्षा प्रमुखको सहयोगमा अन्दाजी १४ किलो सुन जस्तो देखिने धातु बरामत गरेको उल्लेख छ । विज्ञप्तिमा अनुसन्धान कार्य अघि बढाएको उल्लेख छ ।