सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मंसिर २९ गते
काठमाडौं, २४ मंसिर । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशमाथि परेका उजुरीका बारेमा उजुरीकर्तासँग जानकारी लिएको छ ।
प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरुले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो ।
न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुई जनालाई सर्वाेच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।
अब प्रस्तावित न्यायाधीशहरुको सुनुवाइी २९ मंसिरमा मात्र हुने प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयाे ।
परिषद्ले वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वाेच्च अदालतको प्रस्तावित न्यायाधीशमा सिफारिस गरेको हो । उहाँमध्ये न्यायाधीश सुवेदीका नाममा छ, ढुङ्गानाका तीन र मुसलमानका नाममा एउटा उजुरी परेको थियो ।
न्यायाधीशका लागि शैशिक योग्यता, वरिष्ठ अधिवक्ता एवं अधिववक्ता हैसियतमा कम्तीमा १५ वर्ष निरन्तरुपमा वकालत, वरिष्ठता, अनुभव र विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता र नैतिक आचार, कानुन व्यवसायमा आर्जन गरेको ख्यातिका आधारमा परिषद्ले उहाँहरुलाई छनोट गरेको हो ।
न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । उनीहरुको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।