काठमाडौं महानगरपालिकाले २६४ स्थानमा बस बिसौनी निर्माण गर्ने

काठमाडौं, २७ मंसिर । काठमाडौं महानगरपालिकाले २६४ स्थानमा बस बिसौनी (बस स्टप) निर्माण गर्ने भएकाे छ ।

महानगरपालिकाले यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको महानगरले जनाएको छ ।

बुधबार महानगरपालिकाले ट्राफिक प्रहरीसँग समन्वय तथा सहकार्यसम्बन्धी गरेको अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । दैनिक उपभोग्य वस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने महानगरको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।

अधिकारीले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको भन्दै यातायातसम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको बताए । ‘अहिले सानातिना सुधारका काम गर्दा प्रणालीमा सुधार आउँछ भने त्यहाँबाट सहकार्य थालौं,’ ट्राफिक प्रहरीसँग उनले भने । अधिकारीले काठमाडौंमा अटो रिक्सा, ईरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने बताएका छन् ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने भन्दै करिडोर दुईतर्फी सञ्चालन गर्नुपर्ने बताए ।

यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतीकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने बताए । उनका अनुसार यस वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याएर काम भइरहेको बताए ।