भिजिट भिसामा ‘मानव तस्करी’ गर्ने अध्यागमनका अधिकृत सहित ३२ जना पक्राउ

काठमाडाैं, २७ मंसिर । भिजिट भिसामा वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाएर विदेश पठाउने ३२ जना गिरोह पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका नक्कली कागजात बनाएर विदेश पठाउने नाममा अध्यागमन विभागका कर्मचारी र नेपाल एयरलाइन्सका कर्मचारी नै संलग्न रहेको पाइएको हाे ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो र आज ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेपछि भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ को सेटिङ बाहिर आएको हाे ।

प्रहरीको टोलीले हिजो र आज अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका अधिकृत अर्विन यादव, नेवानीकै अर्का कर्मचारी होम पोखरेल र एजेन्ट पदम लामालाई पक्राउ गरेको छ ।

भिजिट भिसामा जान दुईतर्फी टिकट काट्नुपर्ने भए पनि केही एयरलाइन्स र कर्मचारीको मिलेमतोमा पैसा लिएर फेक रिटर्न टिकट बनाउने भिसा परिवर्तनका लागि कागजात बनाइदिने लगायतको कसुर गरेको पाइएकोले अनुसन्धानको दायरा बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जनाएकाे छ ।

यो प्रकरणमा ३२ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक, ट्राभल एजेन्ट र कन्सल्टेन्सी रहेका छन् ।