पूर्वगृहमन्त्री बालकृष्ण खाणको सुनुवाइ न्‍यायाधीश कोइरालाको एकल इजलासमा

काठमाडाैं, २८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको पेशी उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा परेको छ।

यस इजलासले उनलाई पुर्पक्षको लागि थुनामा राख्ने कि नराख्ने भन्ने निर्णय गर्नेछ। मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिँदा उनीबारे निर्णय हुन सकेको थिएन।

खरेलले खाणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए। यता पाण्डेले भने ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। दुई न्यायाधीशबीच राय बाझिएकाले आज अर्को इजलासले यसबारे निर्णय गर्नेछ।

खरेल र पाण्डेको इजलासले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उनले धरौटी बुझाउन नसकेपछि थुनामै छन्।

उनीसँगै हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई १० लाख रुपैयाँ, खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ, एमाले नेता टोप बहादुरका छोरा सन्दीपसँग ३० लाख रुपैयाँ, हरिभक्त महर्जनसँग १५ लाख र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियाे। उनीहरू धरौटी बुझाएर छुटिसकेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।