कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको शालिक राख्न खोजेपछि प्रशासनले लगायाे निषेधाज्ञा

धनगढी, २८ मंसिर । स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने विषयमा तनाव हुने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ ।

कन्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि लागू हुनेगरी भीमदत्त नगरपालिका–४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको शालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको शालिकसम्मको मुख्य सडकखण्डमा बिहीबारदेखि निषेधाज्ञा जारी गरेका हुन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भनिएको छ, ‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरूबिच मतभिन्नता भई आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्बाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०/८/२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।’

राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरिएको बताइएको छ ।

संविधान चोकमा रहेको भीमदत्तको शालिकको ठाउँमा राप्रपाले महेन्द्रको शालिक राख्ने तयारी गरेको थियो । त्यसलाई मध्यनजर गर्दै दुई पक्षबिच झडप हुने आशङ्कामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।