प्रचण्ड सरकारका एक वर्षः एमाले उपाध्यक्ष पौडेल र सचिव भट्टराईका नजरमा पूर्ण असफल

काठमाडौं, ३ पुस । नेकपा (एमाले) महाभारत श्रृंखला भन्दामाथि मध्य पहाडका २६ जिल्लाहरु तथा २ सय १५ वस्तीहरुलाई जोड्ने गरी रेखाङ्कन भएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको करीब १ हजार ८ सय ७९ किलोमिटर लम्बाईको क्याराभान पूरा गरेर काठमाडौंँ फर्किएको छ । स्थानीयसँग सम्बन्ध बनाउँदै राष्ट्रिय सन्देश दिने योजनासहित करीब ३ हप्ता लामो अभियान पूरा गरी २६ जिल्लाका २५ लाख बढी जनतासँग प्रत्यक्ष वा परोक्षरुपमा संवाद गरेको एमालेका शीर्ष नेताहरु अहिले धमाधम राजधानी फर्किन थाल्नु भएको छ । करी तीन हप्तापछि एमाले मुख्यालय छिर्नु भएका एमाले नेताहरुको मुहारमा एक प्रकारको उत्साह देखिन्थ्यो । उहाँहरु सबैको एउटा बुझाई छ, यो अभियान पुर्णरुपमा सफल भयो ।

सुदुरपश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको यात्रामा जोडिनु भएका एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव योगेश भट्टराईसँग यात्राबारे कुराकानी गरेका छौँ । त्यो अनुभव हामी प्रकाशन गर्ने छौँ । यहाँ भने हामीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृत्व गर्नुभएको सरकारको एक वर्ष केही दिनपछि पूरा हुँदैछ । प्रचण्डले आफ्नो नेतृत्वको सरकारको एक वर्षबारे सम्वोधन गर्ने तयारी गर्नुभएको छ ।  हामीले प्रचण्ड नेतृत्वको सरकारको एक वर्षबारे पौडेल र भट्टराईको समीक्षा यहाँ प्रस्तुत गरेका छौँ ।

सुशासन कायम गर्ने कुरा यो सरकारलाई थाहा छैन

विष्णु पौडेल,
उपाध्यक्ष, नेकपा (एमाले)

देश बनाउने विकास गर्ने, मुलुकमा समृद्धि ल्याउने, सुशासन कायम गर्ने कुरा यो सरकारलाई थाहा छैन । यो सरकारको का मभनेको बाँड्ने, खाने मात्रै हो । कसरी बाँड्ने र कसरी खाने भन्ने कुरा गठबन्धनमा बस्नेहरुलाई नै थाहा होला । जहाँसम्म यो सरकारको कुरा छ । यो सरकार सम्पूर्ण रुपमा असफल भयो । यो सरकार जति दिन रहन्छ । देशले सुशासन, शान्ति–सुरक्षा, राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र कार्यान्वय, मानवअधिकार, शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने, राजश्व परिचालन, अर्थतन्त्रलाई गतिशिल बनाउने सबै सन्र्दभमा यो सरकार असफल भएको छ । यो सरकार जति दिन बस्छ । त्यति नै नेपाली जनताले दुःख पाउने हो । यो ओरालो लागेको असफल सरकार हो ।

नेपाली जनताको चाहना यस्तो सरकार बन्नुपर्छ भन्ने होइन । नेपाली जनताको जनादेश पनि यो होइन । यो प्रकारको खिचडी सरकार नेपाली जनताले चाहेको होइन । तर, संसदको अंकगणितले यो सरकार बन्यो । यो खिचडी सरकारले देशलाई अघि बढाउँन सक्दैन । नीति, विचार, विश्लेषण केही नभएको यो सरकारसँग मात्रै कति समय कस्ले बाँड्ने भन्ने मात्रै छ ।

सरकारमा सहभागी दलले नै यो सरकार असफल भयो भनिरहेका छन् । यस्लाई नम्बर दिनुपर्यो भने म १० नम्बर दिन्छु भनेर त्यहि गठबन्धनका नेताहरुले भनिरहेका छन् । १० नम्बर पनि दिने सरकार पनि बोकेर हिँडिरहेको देखिरहेका छौँ । सरकारमा सहभागी दलले नै यो सरकार असफल भयो भनिरहेको अवस्थामा यो सरकारलाई बोक्ने किन ? हाम्रो प्रश्न छ ।

नेकपा (एमाले) जनमतको हिसावले पहिलो पार्टी हो । संसदको सिट संख्याको हिसावले हाराहारीको दोस्रोमा छौँ । हामीसँग सरकार बनाउने गणित प्रयाप्त छैन । तर, यो क्षेत्र उ क्षेत्र भन्ने छैन नीजि क्षेत्रका कुरा गर्नुहोस्, युवा–विद्यार्थीका कुरा गर्नुहोस्, पेशाकर्मी, बुद्धिजिवीका कुरा गर्नुहोस्, मजदुर–किसानका कुरा गर्नुहोस् सबै क्षेत्र यो सरकारसँग असन्तुष्ट छ । समग्रमा भन्ने हो भने यो सरकारले देशलाई रसातालतर्फ लगिरहेको छ । यो सरकार सम्पूर्णरुपमा असफल छ ।

यो सरकारले विकास निर्माणका कुनै काम अघि बढाएको छैन

सचिव नेकपा (एमाले)
योगेश भट्टराई

यस्तो सरकार बन्यो कि यस्ले केही गर्दै–गर्दैन । यो सरकारले विकास निर्माणका कुनै काम अघि बढाएको छैन । बाटोघाटोको अवस्था त्यस्तै छ । आम मानिसको जीवनका यो देशमा सरकार छ भन्ने अनुभूति हुन सकेको छैन । पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्राका क्रममा पनि हामीले त्यहि सन्देश पायौँ । त्यसैले छिटो भन्दा छिटो तपाईँहरुले पहलकदमी लिनुहोस् भन्ने आम जनसमुदायको भनाई छ । आजको संसदीय व्यवस्थामा पहल कदमी दुई ओटा बाटोबाट हुन्छ । प्रतिनिधिसभामा कसैको बुहमत नभएको अवस्थामा सरकार बदल्ने भनेको प्रतिनिधिसभा भित्रको गणितले हो । अहिलेको प्रधानमन्त्री प्रचण्डलाई साथ दिइरहेको सत्तासाझेदार दल नेपाली कांग्रेसले के–गर्छ ? त्यो उसको कुरा हो । तर, हामीले अहिले सरकार बदल्ने कार्यसूचिलाई प्राथमिकतामा राखेका छैनौँ । यो हाम्रो कार्यसूचि होइन । स्वाभाविक रुपमा सकार बदल्ने भनेको बहुमत ल्याएर गर्ने हो । हामी अहिले मिशन ०८४ अभियानमा छौँ । आम जनताले अहिले मुलुकमा ०८९ मा नेकपा (एमाले)ले बहुमत नल्याउँदाको परिणाम देशले भोगिरहेको छ भनेर भनिरहेका छन् उनीहरुले एमाले जस्तो पार्टीले बहुमत ल्याएको अवस्थामा मात्रै मुलुकले विकास निर्माण र सामाजिक अग्रगतिका लागि कुनै न कुनै कदम चाल्छ भन्ने महशुस गरेका छन् । हामीले पनि आम जनतालाई ०८४ मा हामीलाई बहुमत दिनुहोस् भन्दै आएका छौँ । हामीले झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्रामा पनि यो सद्भाव जनताबाट प्राप्त गरेका छौँ । हामीले यो अभियानमा जनतालाई निरास र हतोत्साही नहुन आश्वस्त पनि पारेका छौँ । हामीले अभियानका क्रममा पाँच वर्ष खेर गयो । यो पाँच वर्षलाई इतिहासमा गणना नै नगरौँ । यो पाँच वर्ष नेपालमा थिएन भन्दिऔँ । त्यसपछि ०८४ मा नेकपा (एमाले)को बहुमत आउँछ । त्यसपछि मुलुकका लागि काम गरौँला भनेका छौँ ।