चितवनमा हात्ती महोत्सव पुस १० देखि, हात्ती पोलो र हात्ती दौड भने नहुने

काठमाडौँ, ३ पुस । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ ।

कोभिड–१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

होटल सङ्घ नेपाल (हान) अन्तर्गतको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन संरक्षण संस्था र रेष्टुरेन्ट एन्ड बार एसोसिएसनको सह–आयोजनामा १७औँ संस्करणको महोत्सव हुन लागेको हो ।

यस पटकको महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने आयोजकले जनाएको छ । हात्तीको शोषण भएको भनी पशुअधिकारकर्मीले विषय उठाएपछि यो पटक हात्तीलाई कष्ट हुने किसिमका प्रतियोगिता नहुने बताइएको हो ।

सङ्घका अनुसार यसपटक हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रमको तालिका रहेको छ ।

सङ्घका अध्यक्ष विनायक शाहले कोभिडपछि लयमा फर्किरहेको मुलुकको पर्यटनलाई थप गतिशील बनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले ३५ लाख पर्यटकलाई सेवा दिने पूर्वाधार बनेको र पर्यटन पूर्वाधारमा खर्बौं लगानी भइसकेकाले ती पूर्वाधारबाट प्रतिफल लिनेगरी रणनीतिक प्रवद्र्धनका कार्यक्रम ल्याउन जरुरी भएको उल्लेख गर्नुभयो ।

उहाँले ‘वाइल्ड लाइफ’ सफारीका लागि उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउने भएकाले चितवनमा हात्तीसम्बन्धी गतिविधि हुने गरेको भन्दै हात्तीको संरक्षण र अधिकारको विषयमा सजक रहेर गतिविधि सञ्चालन हुने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *