नवलपरासी सुस्तापूर्वमा थपिए एक वर्षमा १३ नयाँ एचआइभी सङ्क्रमित

नवलपरासी, ४ पुस । नवलपरासी  सुस्तापूर्वमा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् ।

जिल्लामा गत आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो । साथै जिल्लामा एक वर्षमा पाँच सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा हाल नयाँ र पुराना गरी एक सय २० एचआइभी सङ्क्रमित रहेको तिवारीले जानकारी दिनुभयो ।

“नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आव २०७७/७८ मा ८२, २०७८/७९ मा एक सय सात जना र २०७९/८० मा एक सय २० जनामा एचआइभीको सङ्क्रमण भेटिएको छ”, उहाँले भन्नुभयो । गत आवमा भेटिएका एक सय २० जना एचआइभी सङ्क्रमितमध्ये दुई जना पाँचदेखि १४ वर्षसम्मका बालबालिका रहेका छन् ।

“सङ्क्रमितमध्ये ५१ पुरुष र ४८ महिलासहित ९९ जनाले निरन्तर औषधि खाइरनुभएको छ”, उहाँले भन्नुभयो, “पाँच पुरुष र चार महिलासहित नौ जना यस जिल्लाबाट आफ्नै जिल्ला गइसकेका र पाँच पुरुषले औषधि सेवन गर्न छाडेका छन् ।”

सन् २०३० सम्म एचआइभीको सङ्क्रमणलाई अन्त्य गर्ने सरकारको नीति भए पनि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एचआइभी सङ्क्रमितको सङ्ख्या भने बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले बताउनुभयो ।

अझै पनि समाजमा एचआइभी सङ्क्रमित र तिनका परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था लुम्बिनी प्लसका अध्यक्ष निर्मला पौडेलले बताउनुभयो ।