धनुषाको हंसपुरमा स्थानीय र प्रहरीबीच झडप, एक जनाकाे मृत्यु तीनजना घाइते
जनकपुरधाम, ६ पुस । धनुषाको हंसपुर नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप हुँदा स्थिती तनावग्रस्त बनेको छ।
गएराति सुगानिकास गाउँमा दुई पक्षबीच विवाद हुँदा घाइते भएका ३५ वर्षीय दिपा मण्डलको मृत्यु भएपछि आक्रोशित स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको हो।
इलाका प्रहरी कार्यालय सुगानिकासमा जम्मा भएको आक्रोशित स्थानीयहरूकाे भीडले बिहानै प्रहरी चौकी घेर्दै नाराबाजी गर्न थालेका थिए।
स्थानीयका अनुसार प्रहरी आई घाइते मण्डललाई पक्राउ गरी कुटपिट गरेको र प्रहरीकै कुटाइबाट मण्डलको मृत्यु भएको आरोप छ।
धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले गएराति दुईपक्षबीच विवाद हुँदा घाइते भएका मण्डललाई उपचारको लागि ल्याउने क्रममा मृत्यु भएको र आज बिहान स्थानीयले विभिन्न आशंकामा चौकी घेराउ गरेको र आगजगी गर्ने प्रयास गरेको बताउनुभयाे । उहाँले अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको बताउनुभयाे ।
प्रहरीको गोली लागेर तीन जना घाइते भएको स्थानीयले जनाएका छन्। आक्रोशित भीडले प्रहरीको गाडीमा आगजनी गरेका छन्।
