स्वचालित पेशी व्यवस्थापन सुरु गर्दै उच्च अदालत

काठमाडौं, ८ पुस । सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ ।

पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले यसको शुभारम्भ गर्नुभएकाे हाे ।

प्रधानन्यायाधीश श्रेष्ठका अनुसार अब भनसुन, आग्रह गरेर पेशी तारेख तय नहुने भएकाे छ । प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयाे, ‘यो एउटा सुखद क्षण हो । ‘न्यायिक प्रशासनिक कामकाबारहीमा सरलता त दिन्छ नै, यसप्रति सबैको विश्वास सबैले अपनाउँछन् ।’

यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिनुभएको थियो ।

प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराउनुभएकाे थियाे ।

त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराउनुभएकाे थियाे ।