विद्युतको बक्यौता उठाउन उद्योगको लाइन काट्नु राम्रो होइन : अध्यक्ष ओली
काठमाडौं, ८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्युतको बक्यौता उठाउन उद्योगीहरुको लाइन काट्नु राम्रो नभएकाे बताउनुभएकाे छ ।
एमालेको झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्राबारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उद्योगी व्यवसायी हरुको लाइन काट्नु गलत भएकाे बताउनुभएकाे हाे ।
उहाँले सरकारसँग पैसा भएन भनेर बुल्डोजिङ गर्नु राम्रो नभएको बताउनुभयाे । साथै उहाँले डेडिकेटेड फिडर र ट्रंकलाइन जोडे पनि त्यस अनुसार विद्युत नदिएको तर महसुल मात्र बढी लिनु गलत भएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘सरकारले डेडिकेटेड लाइनको नाममा पुरानो बिलअनुसार असुल गर्न खोज्दैछ । डेडिकेडेट लाइन जोडेर बिजुली दिएको छैन भने केको पैसा तिर्ने ? उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत बन्द गर्ने काम उचित होइन । खपत गरेको विद्युतको महसुल लिने सम्झौताअनुसार लिनुपर्छ । तर, सम्झौता एकातिर छ काम अर्कोतिर हुनुहुँदैन ।’