त्रिभुवन विमानस्थलबाट भित्र्याएको थियाे १३८ किलो सुन, भन्सारमा २१ दिनको मात्रै सीसीटीभी फुटेज

काठमाडौं, ८ पुस । त्रिभुवन विमानस्थलबाट पक्राउ परेकाे १४ किलो सुन काण्डका मीनबहादुर घले र चन्द्र घलेले पटक-पटक गरी अहिलेसम्म १३८ किलो सुन अवैध तरिकाले भित्र्याएको खुलेको छ।

विमानस्थलबाट मंसिर २२ गते बरामद गरेको १४ किलो सुनबारे अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय छानबिन समितिले अनुसन्धानका क्रममा १३८ किलो सुन त्यसैगरी भित्रिएको पत्ता लगाएको हो।

छानबिन समितिकाे अनुसन्धानकाे क्रममा विमानस्थलको भन्सार कार्यालयमा २१ दिनको मात्र सीसीटीभी फुटेज स्टोरेज हुने गरेको भेटिएको छ ।

मंसिर २१ गते दुबईबाट नेपाल तस्करी भएर आएको १४ किलो सुनको अध्ययन गर्ने क्रममा भन्सार कार्यालयमा २१ दिनको मात्रै सीसीटीभी फुटेज भेटिएको छानबिन समितिले जनाएको छ । तर, नेपालको कानूनअनुसार ३ महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।

विमानस्थलबाट १४ केजी सुनसहित पक्राउ परेका ५५ वर्षीय घले २१ गते फ्लाइ दुबईको विमानबाट नेपाल आएका थिए । उनले स्टकोट जस्तो विशेष कपडा नै सिलाएर गोजी बनाइ २ केजीका ७ वटा विस्कुट आकारको सुन लुकाएर ल्याएका थिए । घले एक वर्षमा ५२ पटकसम्म दुबई गएको उनको ट्राभल हिस्ट्रीमा देखिएको छ ।

छानबिन समितिले आइतबार छानबिन प्रतिवेदन बुझाएको छ । उक्त अवसरमा छानबिन समितिका संयोजक पौडेलले विमानस्थल भन्सार कार्यालयमा २१ दिनको मात्रै सीसीटीभी फुटेज भेटिएको र पटक-पटक गरी अहिलेसम्म १३८ किलो सुन अवैध तरिकाले भित्र्याएको जनाएका हुन् ।