आरती साहका पति मोतीबाबु जनकपुरबाट पक्राउ

जनकपुरधाम, ९ पुस । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह जनकपुरबाट पक्राउ परेका छन् ।

सोमबार जनकपुरधामको सीताचोकस्थित सनुन होटेलबाट उनलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले जानकारी दिनुभयाे ।

उनलाई आवश्यक प्रक्रिया पुर्‍याएर थुनामा पठाइने एसपी शर्माले बताउनुभयाे । गत मंसिर २० गते सर्वोच्च अदालतले आरती साहका पति मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोककी आरती साहको शव गत ७ जेठमा घरमै झुण्डिएको अवस्थामा भेटिएको थियो । उनको माइती पक्षले छोरीको हत्या भएको भन्दै पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीविरुद्ध जाहेरी दिएका थिए ।

त्यसपछि जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर १८ असोजमा उच्च अदालत जनकपुरले पति र ससुरा दुबै जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो।

आरतीको माइतीपक्षले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले पतिलाई थुनामा पठाउन र ससुरालाई १ लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएको थियो ।