धनगढी एफसीले पोखरालाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल सुपर लिगको फाइनलमा
काठमाडौं, ९ पुस । पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेश गरेको छ ।
निर्धारित समयमा दुबैतर्फबाट एक–एक गोल भएपछि थपिएको ३० मिनेट समयमा पनि दुबैतर्फबाट एक–एक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा धनगढी ४–३ ले बिजयी भएको हो ।
खेलको पाँचौ मिनेटमै आयुश घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । तर ५४ औं मिनेटमा धनगढीका कप्तान देवेन्द्र तामाङले बराबरी गोल फर्काए । त्यसपछि निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको हो ।
९० मिनेटको खेल सकिएपछि ३० मिनेट समय थप्दा पोखराका स्टेफन कोजो एनोरले १०४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि पेनाल्टी सुटआउटबाट नतिजा निकालेका थिए ।