सार्प सुटर सुजित सिंहलाई प्रहरीले गर्याे गोली हानेर पक्राउ
जनकपुरधाम, ११ पुस । बाराका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य आरोपी सार्प सुटर सुजित सिंहलाई प्रहरीले गोली हानेर पक्राउ गरेकाे छ ।
सिंहलाई बारा प्रहरीले मङ्गलवार साँझ पक्राउ गरेको हो । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारको हत्याका मुख्य आरोपी सार्प सुटर सुजित सिंहलाई प्रहरीले नियन्त्रणमा लिन गाेली चलाउनु परेकाे थियाे ।
प्रहरी स्रोतका अनुसार सिंह भाग्न खोज्दा गोली चलाउनुपरेकाे जनाइएकाे छ । उनको खुट्टामा गोली लागेकाे छ । उनी भारतको बिहार राज्यमा पर्ने मोतीहारी जिल्लाका हुन् ।
भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट उनलाई नियन्त्रणमा लिएको बाराका एसपी सुरेश प्रसाद काफ्लेले पुष्टि गरे ।
गत कार्तिक १३ मा दुई मोटरसाइकलमा रहेका चार जनाले गोली चलाउँदा प्रिन्सिपल स्वर्णकार घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगञ्ज लग्दा लग्दै मृत्यु भएको थियो ।
प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा बाराको कलैयाका २ की राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह थुनामा छन् ।
