गर्भनर अधिकारीको शैक्षिक योग्यताविरुद्ध परेको रिटमा आज पेसी

काठमाडौँ, १३ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको छ ।

बिहीबार अधिवक्ताहरू दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर हुनुपर्नेमा गभर्नर अधिकारीको योग्यता सोअनुसार नभएकाले नियुक्ति बदरको माग रिट निवेदनमा गरिएको छ ।

रिटमा निवेदकहरूले गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्र रहेको दाबी गरेका छन् । सो योग्यता स्नातकोत्तर वा सो सरह नभएको उनीहरूले जिकिर गरेका छन् । २०७६ चैत २४ मा अधिकारी गभर्नर नियुक्त भएका थिए ।