प्रधानमन्त्री कपको उपाधि एपीएफले जित्याे
काठमाडौं, १८ पुस । प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले कोशीलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हाे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनाउन सक्यो ।
कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२, काजल श्रेष्ठले २२, अप्सरी बेगमले ८, लकिता राजवंशीले ६ र सवनम राईले अविजित २ रन बनाए ।
एपीएफका लागि सीता राना मगर र करुणा भण्डारीले १/१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफका लागि इन्दु बर्माले सर्वाधिक ५३, ज्योति पाण्डेले २७, रोमा थापाले १४ रन बनाए । सरिता मगर ९ र करुणा भण्डारी २ रनमा अविजित रहे ।
बलिङ तर्फ कोशीका लागि अप्सरी बेगमले प्रतियोगिताकै पहिलो ह्याट्रिक विकेट लिइन् । अलिसा खडियाले २ विकेट, रुविना क्षेत्री र निशा शाहले १/१ विकेट लिए ।