शिवराजकाे हत्या अनैतिक सम्बन्ध र सम्पत्तिका कारण

दाङ, १८ पुस । दाङको कोइलाखानीको सुरुङमा मृत भेटिएका शिवराज केसीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा श्रीमान्‌–श्रीमतीसहित चार जना पक्राउ परेका छन्। पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ।

घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा शुक्रबार मृत भेटिएका थिए। बंगलाचुली गाउँपालिका–४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा पुरुषको शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा केसीको हत्या भएको संकेतपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको हो।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कुँवर, दीपाका भाइ २९ वर्षीय तिलक पुन र भरूवा बन्दुक दिने मेघराज कुँवर रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक केसीको दीपासँगको अनैतिक सम्बन्धका कारण हत्या गरिएको खुल्न आएको छ। पछि शेरबहादुरले श्रीमती प्रयोग गरेर शिवराजसँग सम्पत्ति हडप्न खोजेको प्रहरीको भनाइ छ ।

‘शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत वर्षदेखि प्रेम सम्बन्धमा थिए’, पत्रकार सम्मेलनमा दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले भने, ‘श्रीमती परपुरूषको प्रेममा भएको श्रीमान जानकार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

एसपी केसीका अनुसार पुस ८ गते दिपाले प्रेमी शिवराजलाई श्रीमानको योजनामा फोन गरेर कोइलाखानी बोलाएकी थिइन् । प्रेमीका भेट्न कोइलाखानी पुगेका शिवराजलाई सुरूङभित्र लगेर बन्धक बनाइ दुई कठ्ठा जग्गा दिन दबाब दिइएको थियो ।

मृतकका साला नाता पर्ने शिवराज वलीले किटानी जाहेरी दिएपछि दीपा, उनका श्रीमान् शेरबहादुर र दीपाका भाइ तिलक पुन मगरलाई १५ गते दाङको अमिलिया जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको थियो। सोधपुछका क्रममा भरुवा बन्दुकको प्रयोग गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

यस्तै, १५ गते नै मेघराज कुँवरको घरबाट बन्दुक एक नाल, बन्दुकमा प्रयोग हुने छर्रा १०८ थान, गोलाकार ठूला दुई थान गोली, लाम्चाकार ठूला गोली ३९ थान, बारुद ७५ ग्राम, केप ५ थान र हरियो सुती कपडाको लत्ता एक थान बरामद गरी मेघराजलाईसमेत पक्राउ गरेको थियो। पक्राउ परेकाहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।