भारतलाई २० करोड सिधै खर्च गर्न दिने सहमतिमा एमाले सांसद पन्तको आपत्ति

काठमाडौं, २० पुस । संसदीय समितिभित्र भारतले नेपालका परियोजनामा सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएर २० करोड रुपैयाँ पुर्‍याइएको प्रति विरोध भएको छ ।

आज बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्रीसमेतको उपस्थितिमा भारतसँग भएको सहमतिप्रति नेकपा एमालेका सांसद रघुजी पन्तले आपत्ति जनाका हुन् ।

पन्तले यसरी आफूखुसी खर्च गर्न दिने प्रवृत्ति नेपालको स्वतन्त्रता र सार्वभौमिकता विरुद्ध रहेको तथा यसले देशभित्र अवाञ्छित राजनीतिक प्रभाव र हस्तक्षेपलाई निम्त्याउने बताउनुभयाे ।

यसअघि ३ करोड रुपैयाँसम्म भारतले सिधै खर्च गर्न पाउने व्यवस्था रहेकोमा भारतीय विदेश मन्त्री एस जयशंकरको भ्रमणमा बढाएर २० करोड पुर्‍याइएको हाे ।

जवाफमा प्रधानमन्त्री दाहालले भारतलाई २० करोड रुपैयाँ आफैँले खर्च गर्न दिने गरी सहमति भएको स्वीकार गर्नुभएकाे छ । उहाँले भन्नुभयाे ‘हामीले मन्त्रिपरिषदमा लामै छलफल गरेका हौँ । माननीयज्यूले भनेअनुसार यस्तो सहमति भएको सत्य हो । तर, जहाँ पायो त्यहीँ लगानी गर्ने, जसरी मन लाग्यो त्यसरी भन्ने होइन । यसको प्रक्रिया छ । मेरो ध्यानाकर्षण भएको छ ।