बरहथवा घटना : गृह मन्त्रालयले बनायो ३ सदस्यीय छानबिन समिति, मृतक परिवारलाई १० लाख रुपैयाँ दिने

काठमाडौं, २१ पुस । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाउनुका साथै मृतक परिवारलाई १० लाख रुपैयाँ दिने भएकाे छ ।

शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

त्यस्तै मृतक बरहथवा नगरपालिका-६ का जयशंकर साहको परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको जनाएकाे छ ।

समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेका छन् ।

शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका–५ मा प्राथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा–६ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *