चितवनमा बोराभित्र भेटिएका दुवै शवकाे पहिचान खुल्याे, अनैतिक सम्बन्धका कारण हत्या
काठमाडाैं, २३ पुस । चितवनको भरतपुरमा गत मंसिर ६ मा बोराभित्र बाँधेको अवस्थामा भेटिएका दुई वटा शवको पहिचान खुलेको छ । उनीहरु दुवैजना भारतीय नागरिक भएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा बोराभित्र पोको पारिएको अवस्थामा पुरुष र महिलाको शव भेटिएको थियो । उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरेर कल्भर्ट मुनि फालिएको अवस्थामा शव फेला परेको थियाे ।
उनीहरु नाताले श्रीमान श्रीमती हुन् । उनीहरु भरतपुरमा व्यापार गरेर बसेका थिए । घटनाका पीडक भने भारतमै रहेको खुलेको छ । पीडकले पहिला श्रीमान् र पछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको छ ।
शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच नै सार्वजनिक गरेको थियो । घटना पछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो ।
यो घटना विवाहेत्तर सम्बन्धसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ । विवाहेत्तर सम्वन्ध थाहा पाएपछि महिलाका श्रीमानले भरतपुर बसपार्क नजिकै दुबै जनाको हत्या गराएको प्रहरीको भनाइ छ ।