कोशीमा एमाले–राप्रपा तालमेल

सिटौलालाई जितको भन्दा हारको बढी डर

काठमाडौं, ८ माघ । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई चुनौति दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले तालमेल गरेका छन् । यी दुई दलको तालमेलपछि गठबन्धनबाट उम्मेदवार बन्नुभएका कृष्णप्रसाद सिटौलालाई सहज चुनाव जित्न सकस पर्ने देखिएको छ ।

दुई दलको तालमेलपछि कोशी प्रदेशमा गठबन्धनसँगको मतभार अन्तर ७९४ मात्रै हुनेछ । एमाले एक्लै चुनावी मैदानमा आउँदा सत्ता गठबन्धनसँगको मतभार एक हजार १ सय ८८ ले कम थियो । अब तालमेल अनुसार एमालेका मतदाताले राप्रपाको अन्य तर्फका उम्मेदवार उद्धव पौडेललाई र राप्रपाका मतदाताले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्नेछन् । ११ माघमा कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यको दुई सिटका लागि निर्वाचन हुँदैछ ।

सत्तारुढ गठबन्धनले अन्यतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलामा माओवादी केन्द्रकी चम्पा कार्कीलाई उम्मेदवार बनाएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । सो अनुसार निर्वाचनमा कोशीमा ३६७ मतदाता छन् । जसमा ९३ जना प्रदेशसभा सदस्य छन् । १३७ पालिकाका प्रमुख र उपप्रमुख गरी २७४ जना हुन्छ । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । कोशीमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । एमाले र राप्रपाको तालमेलमा ४ हजार ६४२ मतभार हुनेछ ।