काठमाडौं महानगरपालिकाको पार्किङ निषेधविरुद्ध व्यवसायी आन्दोलित (भिडियो रिपोर्ट)
काठमाडौं, १० माघ । न्युरोड र आसपासका क्षेत्रमा काठमाडौं महानगरपालिकाले पार्किङ निधेष गरेपछि व्यवसायीहरु आन्दोलित बनेका छन् । काठमाडौं महानगरले न्युरोडका कालोपत्रे सडकमा पार्किङ निषेध गरेसँगै व्यवसायीहरु निरन्तर आन्दोलित बनेका हुन् ।
महानगरले न्युरोड जानुपर्ने सवारी धनीलाई पुरानो बसपार्कमा रहेको काठमाडौं टावरमा निःशुल्क सवारी साधन पार्किङको सुविधा उपलब्ध गराएको भन्दै न्युरोड र आसपासका क्षेत्रमा पार्किङक निधेष गरेको छ । तर, व्यवसायीहरुले भने त्यसले व्यवसायमा असर पर्ने भन्दै महानगरलाई निर्णय सच्याउन दबाब दिदैँ महानरविरुद्ध आन्दोलन जारी राखेका छन् ।
आर्थिक मन्दीका बेला व्यवसायीलाई मार पर्ने गरी ‘नो पार्किङ’ गरेको उनीहरुको आरोप छ । व्यवसायीहरु अहिले निरन्तर सटर बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । महानगरले निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
महानगरले धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताललगायत क्षेत्रका सडकमा सवारी साधन पार्किङ गर्न नपाइने भन्दै जवरजस्र्ती सवारीहरु उठाउन थालेपछि व्यवसायीहरु थप आक्रोशित बनेका छन् ।
सवारी साधन पार्किङमा रोक लगाउने महानगरको कदमविरूद्ध न्युरोड क्षेत्रका व्यवसायीसँगै स्थानीय, सामाजिक संघसंस्था र सरोकारवाला पनि आन्दोलित बनेका छन् । सवारी साधन पार्किङको उचित विकल्प नदिई महानगरले न्युरोड क्षेत्रका कालोपत्र सडकमा सवारी साधन पार्किङ रोकेको व्यवसायीहरूको आरोप छ । न्युरोड क्षेत्रमा व्यापार व्यवसायमा असर पुग्दा राजश्व संकलनमा समेत असर पर्ने उनीहरुको भनाई छ ।
हिजोदेखि आन्दोलनमा रहेका व्यवसायी र स्थानीयले निर्णय फिर्ता नलिए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । नागरिक सर्वोच्चता नै खोसेको उनीहरुको आरोप छ ।