कर्णालीमा मतदान सकियो, कोशी र बागमतीमा अन्तिम चरणतर्फ
काठमाडौँ, ११ माघ । राष्ट्रिय सभाका १९ सदस्यका लागि आज सातै प्रदेशमा भैरहेको मतदान करीब सकिएको छ । कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १ सय ९६ जना मतदाता रहेका थिए ।
प्रदेशसभाका ४० तथा स्थानीय तहका १ सय ५६ मतदाता रहेकोमा सबैले मतदान गरिसकेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको मृत्यु भएको थियो । त्यसैगरी जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको भूकम्पका कारण मृत्यु भएको थियो । बाँकी सबैले मतदान गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार कोशी प्रदेशको विराटनगरमा जारी मतदानमा पनि ४ जनाले मात मतदान गर्न बाँकी छ । प्रदेशसभाका सबै अर्थात् ९३ सांसदले नै मतदान गरिसकेका छन् । स्थानीय तहका २७४ प्रमुख उपप्रमुख मध्ये ४ जना बाँकी रहेका छन् । धरानका मेयर हर्क साम्पाङले मतदान नगर्ने बुझिएको छ ।
त्यसैगरी बागमतीमा प्रदेशसभा ११० सदस्य मध्ये १ सय बढीले मतदान गरिसकेका छन् । स्थानीय तहका २३७ प्रमुख उपप्रमुखमध्ये २ सय ३० बढी मतदान गरिसकेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मतदानमा सहभागी नहुने बुझिएको छ । त्यसैगरी नुवाकोटको किस्ताङ गाउँपालिकाका अध्यक्ष चेक बाउन्सको मुद्दा परेकाले मतदानमा सहभागी हुन पाउने छैनन् । काभ्रेको चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा पनि विरामीका कारण मतदानमा सहभागी नहुने बुझिएको छ ।
हाम्रो नेपाली पार्टीका २ सांसद शैलेन्द्र बज्राचार्य र सरिता खड्गी पनि मतदानमा सहभागी नहुने बुझिएको छ । अन्य चार प्रदेशको पनि मतदान अन्तिम चरणतर्फ पुगेको छ ।
हाल कायम प्रदेश सभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार चार सय ९८ मतदाता छन्। प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी दुई हजार ४७ मतदाताको कुल मतभार ५७ हजार पाँच सय ५९ हुन्छ ।