स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा

काठमाडाैं, ११ माघ । सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध मुद्दा दायर भएको छ।

अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगले स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा बिहीबार काठमाडौंस्‍थित विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हाे ।

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साहविरूद्ध मुद्दा दायर भएको आयोगले जनाएकाे छ ।

उनीहरूले ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको आरोप छ। गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याड खरिद गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।

उक्त उजुरीमाथि छानबिन हुँदा भ्रष्टाचार भएको पाइएको अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयाे ।

आ.व. २०७७/०७८ मा सरकारले सशर्त अनुदानतर्फ सामुदायिक विद्यालयका छात्राहरूका लागि नि:शुल्क प्याड वितरणका लागि बजेट विनियोजन भएको थियो। त्यसको खरिदका लागि पालिकाले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ नियम ११ विपरीत काम गरेको पाइएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *