भिजिट भिसाका नाममा भएकाे मानव तस्करीमा संलग्न २२ जनाविरुद्ध आज उच्च अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं, १८ माघ । भिजिट भिसाका नाममा भएकाे मानव तस्करीमा संलग्नविरुद्ध आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दर्ता गर्ने तयारी गरिएको छ।
त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा भएकाे मानव तस्करीमा संलग्नविरुद्ध प्रहरी प्रतिवेदनको आधारमा ७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो।
जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंका प्रवक्ता सिताराम अर्यालले दिउँसो ३ बजेपछि उच्च अदालतमा मुद्दा दर्ता गरिने बताउनुभयाे ।
हिजो सो प्रकरणको अनुसन्धान भएको ६० दिन पुगेपनि उच्च अदालत पाटन मातहतका अदालतहरुमा शोक विदा दिइएका कारण आज मुद्दा दर्ता गर्न लागिएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन माघ १४ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेश गरेको थियो।
सोही प्रतिवेदनका आधारमा सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो।
प्रहरीको अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरुले संगठित समूह बनाई भिजिट भिसाका नाममा माेटाे रकम लिएर मानव तस्करी गर्ने गरेको खुलेको थियाे।