शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे छलफल भयो : अध्यक्ष ओली

काठमाडौं, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफल सकेर बाहिरिनेक्रममा अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा प्रधानमन्त्रीसँग छलफल भएको बताउनुभयाे ।

समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भएको बताउँदै ओलीले भन्नुभयाे, ‘खास यो विधेयकमा छलफल भइराख्या छ समितिमा, त्यसलाई राम्ररी मिलाएर छिटै टुंग्याऔं भन्ने विषयमा छलफल भयो ।’

टिआरसीमा एमालेले राखेकाे अडान भने यथावत् नै रहेको अध्यक्ष ओलीले बताउनुभयाे । सहमति नभए बहुमतमा पास गर्नेबारे भइरहेको छलफलबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयाे, ‘बहुमतले किन पास गर्नुपर्‍यो राम्रो बनाएर सहमतिमा पास गरे भइगो नि !’