आगो ताप्ने क्रममा सासू बुहारीको निसास्सिएर मृत्यु

डडेल्धुरा, २२ माघ । डडेल्धुराको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासू बुहारी हुन् ।

एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीकाे अनुमान छ ।

[bsa_pro_ad_space id=69]

मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिनुभयो ।

उहाँकाअनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसास्सिएर उनीहरुको मृत्यु भएको खुलेको छ । बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्याइएको थियो ।

अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[bsa_pro_ad_space id=68]