कांग्रेस नेता आलमविरुद्धको अन्तिम सुनुवाइ आज
काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।
रौतहटमा इँटाभट्टामा जिउँदै मानिस इँटाभट्टामा जलाएको घटनाका आरोपित कांग्रेस नेता आलम विरुद्धको अन्तिम सुनुवाइ रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा परेको छ ।
२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप आलममाथि छ । उनी पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन् ।
उनीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि गत पुस २९ गते हुने भनेर दिन तोकिए पनि धेरैजसो न्यायाधीश बिदामा बसेको भन्दै सो दिन पेसीमा चढेको थिएन ।
गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।
०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्रीसमेत रहेका आलममाथि छ ।
सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेको थियो । उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो ।
