५ सय ४२ केजी गाँजासहित चितवनबाट दुईवटा ट्रक बरामद

चितवन, ७ फागुन । प्रहरीले चितवनबाट ५ सय ४२ किलो गाँजासहित दुईवटा ट्रक बरामद गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको झुरझुरेबाट ३० वटा पोका पारेर लुकाइएको गाँजा प्रहरीले बरामद गरेकाे हाे।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार राप्तीस्थित पूर्व-पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाइएको गाँजा इलाका प्रहरी कार्यालयले फेला पारेकाे हाे ।

प्रहरी गस्ती टोलीले चेकजाँच गर्नेक्रममा उक्त परिमाणकाे गाँजा फेला परेकाे जनाइएकाे छ । शंकास्पद अवस्थामा रोकिराखेको देखेपछि दुबै ट्रकको चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा भेटिएको एसपी कार्कीले बताए।

उनका अनुसार सिसाका बोतल बोक्ने ट्रकले धादिङको मलेखुबाट लोड गरेर ल्याएको गाँजा झुरझुरेमा डिब्बा ट्रकमा पल्टी गरिएको थियो। बरामद भएको गाँजा धादिङ, मकवानपुर र चितवनका पहाडी क्षेत्रमा उत्पादन गरिएको हुनसक्ने उनले बताए।

प्रहरीले डिब्बा ट्रकका चालक धनकुटा छथर जोरपाटे-३ का ३२ वर्षका रमेशनाथ दाहाल र अर्को ट्रकमा सवार कपिलवस्तु बुद्धभूमि-४ का २५ वर्षीय खुशीराम थारूलाई पक्राउ गरेको छ। ट्रकका चालक फरार छन्।