सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका सञ्चालक गुरुङ पक्राउ
काठमाडौं, १४ फागुन । १४ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको अभियोगमा प्लाटिनम कलेज डिल्लीबजारका सञ्चालक जीवनकुमार गुरुङ पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको १४ किलो सुन प्रकरणका मुख्य योजनाकार मानिएका डिल्लीबजारको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका सञ्चालक गुरुङ्गलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।
दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङलाई पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार भएका थिए ।
भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको मुख्य नाइके गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको जनाएको थियो ।