माओवादी केन्द्र स्थायी समिति बैठकमा कार्यविभाजनप्रति उपमहासचिव शर्मा असन्तुष्ट

काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा पेस भएको नेताहरुको कार्यविभाजनलाई लिएर असहमति जनाउनुभएकाे छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकमा उहाँले प्रस्तावित कार्यविभाजन र सेती महाकालीमा देखिएको विवाद समाधानको निर्णयमा असहमति प्रकट गर्नुभएको हो ।

“कार्यविभाजन सही भएन, पार्टी निर्माणको उद्देश्यअनुरुप भएन, विधान अधिवेशनको ‘ह्याङओभर’ लाई लिएर कार्यविभाजन गरियो”, बैठकपछि उपमहासचिव शर्माले भन्नुभयो, “विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफूलगायत अन्य नेतालाई कार्यजिम्मेवारीविहीन बनाइएको छ ।”

सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाइएकोलगायत मुद्दा, त्यहाँको दलभित्रको विवादलाई टुङ्ग्याउने निर्णय सन्तुलित र न्यायपूर्ण नभएको भनी आफूले असहमति राखेको उहाँले जानकारी दिनुभयो ।

आफूले राखेको असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहजरुपमा लिनुभएको उहाँले बताउनुभयो । “पार्टी अध्यक्षले असहमतिका विषयलाई पार्टीभित्र राख्न पाइन्छ, स्वागत छ भन्नुभयो”, उहाँले भन्नुभयो, “मैले असहमतिका विषय सम्पूर्ण नेतृत्वलाई बुझाएको छु ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *