माओवादी केन्द्रद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

सुदूरपश्चिम, २३ फागुन । नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको सो पार्टीका प्रदेशसभा सदस्य शिवसिंह ओलीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता शाह नेतृत्वको सरकारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सत्ता साझेदार थियो । कूल ५३ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक सो पार्टीका दश प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेसका १९ सदस्यमध्ये बझाङबाट प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको केही महिनाअघि गाडी दुर्घटनामा निधन भएको थियो । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दश, नागरिक उन्मुक्तिका सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सदस्य छन् ।