संघीय संसदकाे दुवै सदनको बैठक बस्दै
काठमाडौं, २४ फागुन । संघीय संसद्काे दुवै सदनको बैठक आज बस्ने भएकाे छ ।
गत सोमबार स्थगित भएको बैठक आजका लागि बोलाइएको हो । बैठक बिहान ११ बजे संघीय संसद्भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।
राष्ट्रियसभाको बैठक भने सवा १ बजे बस्ने तय भएको छ । राष्ट्रियसभाको बैठक यसअघि फागुन २१ गते सूचना टाँसेर स्थगन भएको थियो ।
प्रतिनिधिसभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची राखिएको छ ।