बिदेश पठाईदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ
काठमाडौं,४ फागुन । वैदेशिक रोजगारका लागि बेलायत, माल्दिभ्स र दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई काठमाडौंबाट पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङ उर्लाबारी नगरपालिका ९ घर भइ हाल ललितपुर २५ भैँसेपाटी बस्ने लक्ष्मी लिम्बू, रविन सैजुसमेत ४ जनालाई वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भनि २९ लाख ८८ हजार रुपैयाँ रकम लिएको उजुरीका आधारमा पक्राउ गरेको बताएको छ । लिम्बू उक्त रकम हात पारेपछि फरार भएकी थिइन् ।
त्यसैगरी प्रहरीले वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनि ठगी गरेको उजुरीका आधारमा नवलपरासीको कावासोती घर भइ हाल काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ ग्राण्डी बस्ने सुशिला राईलाई पनि पक्राउ गरेको छ । राईले भिमबहादुर सिंहसमेत २ जनालाई दुबईमा सेक्युरिटी गार्डको काम लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति ५ लाख ५० हजार रुपैयाँ लाग्ने बताएर मासिक एक लाख रुपैयाँ तलब हुन्छ भनि विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरुबाट ५ लाख ७५ हजार रुपैयाँ लिएको उजुरी परेको प्रहरीले बताएको छ ।
त्यस्तै माल्दिभ्स पठाइदिन्छु भनि रकम ठगी गरेको उजुरीका आधारमा प्रहरीले म्याग्दीको बेनी घर भइ हाल काठमाडौंको टोखा बस्ने सुनिल शाहीलाई पनि पक्राउ गरेको छ । शाहीले सुनबहादुर गोलेलाई वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिने र त्यसका लागि ३ लाख ५० हजार रुपैयाँ लाग्ने बताएर प्रतिष्ठित कम्पनीमा ड्राइभिङ काम लगाइदिन्छु भनि तीन लाख पचास हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।