प्रचण्डका कारण बहकिएका नेपाल ओलीको भेटघाटले फकिएपछि…
काठमाडौं, २९ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वाभाव इखालु त छ नै त्योसँगै उहाँको छिट्टै फकिने स्वाभाव पनि गज्जबको छ । उहाँका यी दुबै स्वाभावलाई नजिकबाट राम्ररी बुझ्नु भएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय नेपाललाई फकाउन सफल हुनुभएको छ ।
पदलोलुपता बढी भए पनि समकालीन नेताहरुमा नेता नेपाल तुलनात्मक रुपमा स्वच्छ छवीका नेताका रुपमा परिचित हुनुहुन्छ । पछिल्लो समय ओली र नेपालबिचको दूरी निकै टाढिएको थियो । उहाँहरुबिचको दूरी बढाउनमा सबै भन्दा महत्वपूर्ण भूमिका प्रचण्डले नै खेल्नु भएको थियो ।
इखालु स्वाभावका नेपालले पछिल्लो समय पटक–पटक ओलीले आफूलाई अपमान गरेको भन्दै गुनासो गर्ने गर्नुहुन्थ्यो भने प्रचण्डले पनि ‘बलेको आगोमा ध्यू थप जस्तै’ नेपाल–ओलीबिचको बेमेलको दूरीलाई घटाउनेमा भन्दा पनि बढाउनेमा बढी भूमिका खेल्दै आउनु भएको थियो ।
नेकपा (एमाले) कालमा नेपाल र ओलीबिचको सम्बन्ध आक्कल–झुक्कल बाहेक मैत्रिपूर्ण नै थियो । माओवादीसँग एकीकरणपछि बनेको नेकपा कालमा भने नेपालको सम्बन्धन ओलीसँग भन्दा प्रचण्डसँग बढी भयो ।
अर्का नेता बामदेव गौतम त पहिलादेखि नै प्रचण्डप्रति नरम नीति लिने नेताका रुपमा परिचित हुनुहुन्थ्यो । झलनाथ खनाललाई समेत पछिल्लो समय साथमा लिएपछि प्रचण्डले ओलीलाई अनावश्यक रुपमा पेल्ने नीति लिएपछि ०७४ निर्वाचनबाट शक्तिशाली बनेको बामशक्तिमा विस्तारै धमिरा लाग्न थाल्यो ।
यतिसम्म कि प्रचण्डले सचिवालय बैठकहरुमै खुलमखुला रुपमा ओलीलाई पेल्ने र प्रधानमन्त्री पदबाट समेत पदच्युत गर्ने नीति लिएपछि ओलीले २०७७ पुस ५ गते संसद विघटन गरिदिनुभयो । ‘के निहुँ पाउँ’ भनेर बाटो कुरिरहनु भएका प्रचण्डलाई ओलीले संसद विघटन गरिदिएपछि त्यसैलाई प्रतिगमनको संज्ञा दिन सजिलो भयो । प्रचण्ड नेपाललाई पनि काखी च्यापेर सडकमा पुग्नुभयो । पछि अदालतले समेत ओलीको कदमलाई असंवैधानिक ठहर गरिदिएपछि नेपाल र ओलीको दूरी झन टाढा भयो भने प्रचण्डले नेपाललाई झन् बढी काखी च्याप्न थाल्नुभयो ।
संसद विघटनपछि र २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग–अलग अस्तित्वमा फर्काइदिएपछि ओलीले नेपाललाई एमालेमै फर्काउने प्रयास गर्नुभयो । तर, नेपाल र ओलीबिचको दूरी यति टाढिएको थियो कि मिलन विन्दु भेट्न सम्भव भएन । त्यो बिचमा अध्यक्ष ओली र नेपालबीच संवादका शृंखला नचलेका पनि होइनन् । उहाँहरु बिच २०७८ वैशाख ७ र ९ गते दुई पटक मेरियटमा भेटवार्ता पनि भयो । त्यतिबेला ओली प्रधानमन्त्री पदमै हुनुहुन्थ्यो । त्यो भेटमा दुबै नेताबिच मन माझामाझ भए पनि ओली–नेपालले सहमतिको विन्दु भेट्टाउन सक्नु भएको थिएन । बरु त्यतिबेला दुई नेताबिच मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै गरेको तस्बिर निकै चर्चित बनेको थियो । त्यसपछि भने दुई नेताबिच राम्रो संवाद हुन सकेन ।
दुई नेताबिचको सम्वादले सार्थकता पाउन नसकेपछि २०७८ भदौ ९ गते एमाले विभाजन भयो । नेपालसहितका नेताले एकीकृत समाजवादी गठन गरे । त्यसपछि त ओली–नेपालबिचको भेटघाट शून्यप्रायः भयो । औपचारिक मञ्चहरुमा समेत एकले अर्कालाई आलोचना गर्ने तहसम्मको तिक्ततापूर्ण अवस्था बन्यो ।
तर, जब अघिल्लो सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (एमाले)सँग सत्ता समीकरण गरेको समाचार सार्जजनिक भयो । ओली–प्रचण्डबिच केही महिनादेखि गुपचुप भएका भेटघाट र वार्तालापलाई अन्तिम रुप दिदैँ एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) बीच नयाँ गठबन्धन र सत्ता समीकरणको रूपरेखा नै कोरियो । त्यो बेलासम्म पनि यी सबै घटनाक्रमबाट नेपाल बेखवर हुनुहुन्थ्यो ।
अघिल्लो सोमबार बालुवाटारमा एमाले, माओवादी, रास्वपा जनता समाजवादी पार्टीबिच ८ बुँदे सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्ष नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभयो । उहाँहरु पुग्नु अघि नै एमाले अध्यक्ष ओलीले नेपाललाई फोन गरेर प्रचण्ड र श्रेष्ठले ल्याउने सन्देश आफ्नो पनि भएको भन्दै सहकार्यको हात अघि बढाउनु भएको थियो ।
त्यति मात्रै होइन जब बामगठबन्धनको नयाँ राजमार्ग बन्यो । त्यसपछि ओली स्वयंले विगतका तिक्ततापूर्ण सम्बन्धनलाई थाती राखेर नेपाललाई पनि सँगै लैजाने चाहना राख्दै सम्बन्ध विस्तारको ढोका खोलिदिनुभयो । ओलीबाट अपमान भयो भन्दै आउनु भएका नेपालको निवासमै पार्टीका केही नेतासहित पुगेर केही अस्वस्थ्य रहनु भएका नेपाललाई स्वास्थ्य लाभको कामना गर्दै मिलेर अघि बढ्ने प्रस्ताव राख्नुभयो । नेपाल निवासमै ओली पुगेपछि दुई नेताबिच दोहोरो संवाद भयो । ओलीबाट अपमानित भएको बेलाबेलामा गुनासो गर्ने नेपाललाई ओली स्वयं भेट्न निवास पुगेपछि नेपालले ओलीसँग केही नरम बन्ने संकेत त्यतिबेलै गर्नुभयो । त्यसपछि पनि दुबै नेताबिच पटक–पटक भेटघाट र फोनमा वार्तालाप समेत भएको छ ।
पछिल्लो सयम आफ्नो पार्टीका अधिकांश नेता–कार्यकर्ता आइरो लागेर एमालेमा प्रवेशको लहर चलेपछि नेपाल केही निरास बन्दै आउनु भएको थियो । यहि अवस्थामा नेता–कार्यकर्ताको एमाले फर्किने उत्साहलाई रोक्न नसकिने निष्कर्षमा पुग्नु भएका नेपाल ओलीसँग झुकिहाल्ने अवस्थामा पनि हुनुहुन्थेन । नेपाल निकटका नेताहरुका अनुसार कम्तिमा पनि ओलीले सहकार्यको हात अघि बढाउन भन्ने चाहनामा रहनु भएका नेपालाई अहिले केही सहज भएको छ ।
एकातिर एमाले नेतृत्वको गठबन्धनसँग सहकार्य गर्ने र एकतासम्मकै प्रक्रियामा जाने कुरामा एकीकृत समाजवादी भित्र एकमत रहे पनि धोकाधडी हुने हो कि भन्ने त्रास भने कायम नै रहेको देखिन्छ । अर्कोतर्फ पछिल्लो समय नेपालले पनि भित्रभित्रै बाम एकताका विषयमा ओली–प्रचण्डबिच भएका छलफलबारे आफूलाई प्रचण्डले सुइँको समेत नदिएकोमा बढी गुनासो गर्दै आउनु भएको छ । सँगै हिँडिरहेको सहयात्रीलाई बेखवर बनाएर प्रचण्ड ओली नजिक भएकोमा पनि नेपालको गुनासो रहँदै आएको छ । अस्थिर स्वाभावका प्रचण्डले भोलि फेरि अलपत्र नपार्लान् भन्ने के ग्यारेन्टी भनेर नेपालले शक्ति सन्तुलनका लागि केही ग्यारेन्टी खोज्नुभएको छ । कांग्रेस गठबन्धनमा रहेका बेला प्रधानमन्त्रीको कार्यकाल बाँड्ने सहमति भएको थियो । नेपालले अहिलेको नयाँ गठबन्धनमा पनि त्यो विषयलाई मन्दरुपमा उठाउँदै आउनु भएको छ ।
गठबन्धन फेरबदलसँगै प्रधानमन्त्री बन्ने सम्भावना क्षीण बनेपछि बढी भावुक बन्नुभएका नेपाल पछिल्लो समय राष्ट्रिय राजनीतिमा ’बार्गेनिङ’ को राम्रो हैसियतमा रहेको भन्दै राष्ट्रिय सभाको अध्यक्षमा समर्थन गर्नु अघिसम्म पनि केही शक्तिको खोजी गर्नुभएको थियो । आज राष्ट्रिय सभाको निर्वाचन हुँदै गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनको ८ बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।
सिंहदरबारमा आज प्रचण्ड र ओलीसँगको भेटवार्तापछि नेपालले लिखित सहमतिमा हस्ताक्षर गर्नुभएको छ । लिखित सहमतिसँगै राष्ट्रियसभा अध्यक्ष र प्रधानमन्त्रीलाई विश्वासको मत दिन उहाँ मञ्जुर हुनुभएको छ । नेपालले ८ बुँदेमा हस्ताक्षर गरेपछि धेरैले पावर शेयरिङको विषयमा नेकपा एसले उठाएको मागप्रति प्रधानमन्त्री प्रचण्ड र ओली सकारात्मक भएको भन्दै अर्थ लगाएका छन् । प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म शक्ति सन्तुलनमा ओली–प्रचण्ड सकारात्मक भएपछि नेपाल सहमत भएको यस अर्थबाट पनि बुझिएको छ ।
नेपालको मौसमको बरु पूर्वानुमान गर्न सकिन्छ राजनीतिको सकिँदैन भन्ने चर्चित भनाइ छ । आगामी दिनमा राजनीतिले कस्तो मोड लिने हो त्यो त अनुमान गरिहाल्ने अवस्था छैन । तर, अहिलेको पछिल्लो परिदृष्यले भने एक पटक फेरि बामएकताको राजमार्ग कोरेको तथ्यलाई नकार्न नमिल्ने बनाइदिएको छ ।