वैदेशिक रोजगार विभाग ताहाचलका नासु घुससहित पक्राउ
काठमाडाैं, २९ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलका नायब सुब्बालाई घुससहित पक्राउ गरेकाे छ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वैदेशिक रोजगार विभागमा कार्यरत (नासु) लेखापाल प्रमोद निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो। सोही निवेदनका आधारमा टंगालबाट खटिएकाे टोलीले सुब्बालाई घुससहित पक्राउ गरेकाे हाे ।
उक्त टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको र कार्यकक्षबाट स्रोत नखुलेको ७१ हजार ६ सय ३० रूपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको टोलीले जनाएकाे छ ।