निःशुल्क शिक्षाले झिमरुकमा क्याम्पस पढ्ने बढे
प्यूठान, ३० फागुन । झिमरुक गाउँपालिकाले स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढेको छ ।
झिमरुक गाउँपालिका–५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा पढ्ने विद्यार्थीलाई शिक्षा र भर्ना शुल्कमा छुट दिएपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको क्याम्पसले जनाएको छ ।
गत वर्ष क्याम्पसको पहिलो वर्षमा भर्ना भएका विद्यार्थीको सङ्ख्या ५३ रहेकामा यस वर्ष वृद्धि भई एक सय ४५ जना पुगेको गौमुखी क्याम्पसका क्याम्पस प्रमुख शेरबहादुर जिसीले जानकारी दिनुभयो । झिमरुक गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गौमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने नीति तथा कार्यक्रम लिएको थियो । सो कार्यक्रमले क्याम्पसमा स्नातक अध्ययन गर्न विद्यार्थीलाई आकर्षित गरेको क्याम्पस प्रमुख जिसीले बताउनुभयो ।
क्याम्पस प्रमुख जिसीका अनुसार विद्यार्थीले प्रथम वर्षमा रु तीन हजार पाँच सय ५०, दोस्रो र तेस्रो वर्षमा रु तीन हजार र चौथो वर्षमा रु दुई हजार पाँच सय भर्ना शुल्क र मासिक रु आठ सयका दरले शिक्षा शुल्क बुझाउनुपर्दथ्यो । झिमरुक गाउँपालिकाको सहयोगपछि सो शुल्क पूर्ण रुपमा छुट गरिएको छ ।
क्याम्पसले भने फर्निचर र व्यवस्थापन भन्दै वार्षिक रु एक हजार लिने गरेको छ । क्याम्पस प्रमुख जिसीले भन्नुभयो, “व्यवस्थापन र प्रयोगात्मक परीक्षा शुल्क विद्यार्थीले व्यहोर्नुपर्ने भए पनि भर्ना र शिक्षा शुल्क पूर्णरुपमा छुट हुँदा विद्यार्थी राहत पुगेको छ ।” २०६३ सालमा स्थापित गौमुखी क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्काय अन्तर्गतका विषयमा पढाइ हुन्छ ।
क्याम्पसभर जम्मा दुई सय ७० जना विद्यार्थी रहेका छन् । निःशुल्क शिक्षाले महिलालाई उच्च शिक्षाको पहुँचमा ल्याउन थालेको छ । पहिलो वर्षमा भर्ना भएका एक सय ४५ जना विद्यार्थीमध्ये एक सय ३० जना छात्रा रहेको क्याम्पसको तथ्याङ्क छ ।
आयस्रोतविहीन बस्तीमा निःशुल्क पठनपाठनले विद्यार्थीलाई सहज र पहुँच वृद्धि गरिदिएको झिमरुक गाउँपालिका–५ ओखरकोटका स्थानीयवासी दलबहादुर जिसीले बताउनुभयो । झिमरुक गाउँपालिकाले स्नातक तहमा निःशुल्क शिक्षाका लागि गत आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षत्रीले जानकारी दिनुभयो । क्याम्पसलाई बर्सेनि अनुदान दिँदै आइरहेको भए पनि यस वर्षबाट गाउँपालिकाले स्नातकसम्मको शिक्षा निःशुल्क गर्ने योजनाअनुसार बजेट व्यवस्था गरेको उहाँले बताउनुभयो ।