पूर्वसभामुख महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

काठमाडौं, ९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले हाजिरी जमानतमा छाड्ने तयारी गरेको छ ।

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएकाे हाे । हाजिरी जमानीमा छाडेपनि महरामाथि प्रहरीकाे अनुसन्धान जारी रहने प्रहरीले जनाएकाे छ ।

महरालाई ५ चैतमा प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । सरकारी वकिलमार्फत प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेकाे थियाे । अदालतमा म्याद थप गर्न हाजिर गराएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै ४ दिन मात्र स्वीकृति दिएको थियो ।

अदालतले चार दिन म्याद थप गर्न दिएको अनुमतिसम्बन्धी आदेशमा उनलाई टीबी, युरिक एसिड, प्रोस्टेटको समस्या रहेको उल्लेख छ । त्यसपछि उनलाई अदालतले अस्पतालमा राख्न आदेश दिइएकाे थियाे ।

स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न मिल्ने भएकाले सरकारी वकिलको कार्यालयमार्फत उनलाई हाजिरी जमानतमा छाड्न लागिएको हाे ।

महरालाई इलेक्ट्रिक चुरोट (भेप)मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेकाे थियाे ।