हुम्लामा जिप दुर्घटना : दुई जनाको मृत्यु, ५ जना गम्भीर घाइते

काठमाडाैं, १० चैत्र । हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्।

शनिबार दिउँसो अन्दाजी ४ बजे श्रीनगरबाट काठे जाने क्रममा सु-१-०१-००१ ज ११८३ को जिप अदानचुली गाउँपालिका- ४ पान्समा दुर्घटना भएको हो ।

जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए।

प्रहरी निरीक्षक चन्दका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृतक अदानचुली गा.पा.५ बारीगाउँ बस्ने १४/१५ वर्षीय प्रबेश ऐडी र ४०/४५ को फागुने लोहार छन्। दुर्घटनामा ५ जना गम्भीर घाइते छन्।

गम्भीर घाइते हुनेहरूमा चालक दार्चुलाका जनक ठगुन्ना, हुम्लाका धनबहादुर महतरा, ६० वर्षीय तुला टमाटा, ४५ वर्षीय दल बोहरा र रामबहादुर एडी छन्। अदानचुली गाउँपालिकाकै ३८ वर्षीय चैती बुढा र खगेन्द्र टमाटा सामान्य घाइते छन्। उनीहरू दुवैजना बोल्न सक्ने अवस्थामा छन्।

घाइतेहरू सबैको हुम्लाको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *