ललितपुरकाे ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा
ललितपुर, १२ चैत । ललितपुरकाे ढोलाहिटीमा गए राति दुई समूहबीच झडप हुँदा दुईजनाको हत्या भएको छ ।
गए राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिनुभयो ।
“राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भएकाे थियाे । तत्कालै घटनास्थलमा प्रहरी खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन”, उहाँले भन्नुभयो ।
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताउनुभयो ।
प्रहरीका अनुसार शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।
