ढोलाहिटी चक्कु प्रहार घटना : २ वर्ष जेलमा बसेर छुटेका थिए अपराधी

काठमाडौं, १३ चैत । ललितपुरकाे ढोलाहिटी घटनामा संलग्न व्यक्ति अपराधिक पृष्ठभूमिका भएकाे प्रहरीले जनाएकाे छ ।

ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा सञ्चालन गरिएकाे डी पोपिना खाजाघरमा फागु खेलेर मदिरा सेवन गर्ने क्रममा दुई फरकफरक समूहका युवाहरूबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो ।

मृत्यु हुने रोबस राई र पुजन राई फरकफरक समूहका हुन् । हत्यामा संलग्नको आरोपमा प्रहरीले दुई समूहका गरी १८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने मध्ये एक जना खाजा पसल सञ्चालक विजय राई रहेका छन् । झडपका क्रममा चक्कु प्रहार गर्ने व्यक्ति उनी नै रहेको प्रहरीको दाबी छ ।

पक्राउ परेका विजय अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । प्रहरी स्रोतका अनुसार उनी यसअघि लागुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल सजाय भोगेका व्यक्ति हुन् । घटनाको थप विवरण प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।