शनिबारसम्म राम्रोसँग आकाश नउघ्रिने

काठमाडौं, १५ चैत । जल तथा मौसम विज्ञान विभागकाले देशैभर शनिबारसम्म राम्रोसँग आकाश नउघ्रिने जनाएकाे छ ।

विभागले अझै दुई/तीन दिन मौसम सफा नहुने जनाएकाे हाे । विभागका अनुसार आइतबारदेखि मौसम खुल्दै जाने छ भने पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान गरेकाे छ ।

अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा समेत भइरहेको छ ।

गए राति पनि काठमाडौं उपत्यकासहित गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भएको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लमजुङमा भएको छ । त्यहाँ ६१ मिलिमिटर वर्षा भएको छ ।