काेशीमा मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता

विराटनगर, २३ चैत्र । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पनि पदबाट बाहिरिने निश्चत बनेको छ । प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिन एमाले सांसदहरूले हस्ताक्षर गरेका छन् ।

कार्कीलाई समर्थन गरेका ३९ जना नै प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता दिन हस्ताक्षर गरेका हुन् । असोज २७ गते संविधानको धारा १६८(५) अन्तरगत मुख्यमन्त्री बनेका केदार कार्कीलाई एमालेका ३९ जना प्रदेश सभा सदस्यहरूले हस्ताक्षर गरेर समर्थन गरेका थिए । उनीहरूले प्रदेश प्रमुखको कार्यालयमा श शरीर उपस्थित भएर सनाखत समेत गरेका थिए ।

केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि कोशी प्रदेशको सरकार परिवर्तनमा लागेको एमालेले आफ्ना प्रदेश सभा सदस्यहरूलाई समर्थन फिर्ता गराउन हस्ताक्षर गराएको हो ।

एक दुई दिनभित्रमै माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूले पनि हस्ताक्षर गरी मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको माओवादी केन्द्रस्रोतले जनाएको छ ।