चतराधाममा एकमहिने महाकुम्भ मेलाको तयारी पूरा

सुनसरी, २३ चैत । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा आयोजना हुने लागेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी पूरा भएको छ ।

धार्मिकस्थल चतराधाममा यही चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने सो महाकुम्भ मेलामा एक करोडभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएकाले उनीहरुको व्यवस्थापन र सुरक्षाको राम्रो प्रबन्ध गरिएको मेला मूल आयोजक समितिले जनाएको छ ।

धार्मिक परम्परा तथा तीर्थाटनका हिसाबले महत्वपूर्ण रहेको सो महाकुम्भ मेलामा धेरैजसो नेपाल र भारतका भक्तजन सहभागी हुने भएका छन् । आध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको सुनसरी बराहक्षेत्रको प्राचीन हरिद्वारा चतराधाममा हरेक १२ वर्षमा एकमहिने पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ ।

पहिले भारतमा यो कुम्भमेला लाग्दै आएकामा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको पहल र परिकल्पनामा विसं २०५९ देखि नेपालमै यो सुरु भएको हो । पुराणमा उल्लेख भएअनुसारको स्थान चतराधाममा हरेक १२ वर्षमा यो महाकुम्भ मेलाको आयोजना हुने गरेको छ ।

जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले कुम्भ मेलाबाट नेपाल र नेपालीबीचको एकता तथा धार्मिक सद्भावको विकास एवं अभिवृद्धि हुने हुँदा देश–विदेशबाट कुम्भमेलाको दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्व बढ्दै गएको उल्लेख गर्नुभयो । हिन्दू वैदिक सनातन धर्ममा अति पवित्र र पुण्यभूमिका रुपमा उल्लेख भएको यस चतराधाममा आयोजित यस महाकुम्भमा सहभागी भएर अधिक पुण्य कमाउन स्वदेश तथा विदेशका सबै नागरिकलाई उहाँले आह्वान पनि गर्नुभयो ।

कुम्भमेलामा कोटिहोम, वेद पुराण पाठपरायण, आफ्ना इष्टदेवताहरुको पूजन तथा यजन गर्ने, निराहार बसी ब्रत गर्ने र महाकुम्भवमा स्नान गर्ने आदि गरिन्छ । यस महान अनुष्ठान एवं मेलामा स्वदेश तथा विदेशका जगद्गुरु, शङ्कराचार्य, धर्माचार्यको सहभागिता र उहाँहरुको प्रवचन, भजनकीर्तन, शास्त्रार्थ सम्मेलनलगायत महास्नान हुने गर्दछ ।

बाह्रकुम्भमध्ये नेपाललगायत भारतका प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा कुम्भमेला लाग्ने गर्दछ ।